गठबन्धनलाई शुभकामना

विचार / ब्लग

विनोद नेपाल

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि मुलुक ‘नेपालको संविधान’को पूर्ण कार्यान्वयनको दिशातर्फ उन्मुख भएको छ । यद्यपि, राष्ट्रियसभा गठन प्रक्रिया के हुने भन्ने विषय अन्योलमै छ तर सोको टुंगो लाग्नासाथै मुलुक नयाँ प्रणालीअनुरूप सञ्चालन हुनेछ । यसमा सहमति र सहकार्यको आवश्यकता भने उत्तिकै रहनेछ । अब बन्ने सरकारसामु थुप्रै जिम्मेवारी र चुनौती छन् । सर्वप्रथम, एमाले–माओवादी केन्द्र गठबन्धन र गर्ने भनिएको एकीकरण विचार र सिद्धान्तको एकता नभई केवल कांग्रेसलाई पराजित गर्न र आफ्नो अस्तित्व रक्षा गर्न मात्र भएको हो भन्ने पनि धेरैले भन्दै आएका छन् ।

यस सन्दर्भमा पद मिलान, मर्यादाक्रमदेखि लिएर दोस्रो, तेस्रो तहका नेतादेखि कार्यकर्ता तहसम्ममा पनि सन्तुष्टि दिलाउनु चुनौतीपूर्ण नै छ ।
आशा धेरै देखाइएको छ । आश्वासन धेरै बाँडिएको छ । यसको ख्याल राख्दै जनतासमक्ष गरिएका वाचा पूरा गर्न सरकार प्रतिबद्ध हुनुपर्छ । भागबन्डे संस्कार तथा मुलुकी प्रशासनमा बढ्दो राजनीतिक हस्तक्षेपको अन्त्य गरिनुपर्छ । योग्य र सक्षमलाई जिम्मेवारी सुम्पने अर्थात् ‘हाम्रा होइन राम्रा’ खोज्ने परम्पराको थालनी गर्नुका साथै निष्पक्ष ढंगमा काम गर्ने वातावरणको सुनिश्चितता हुन सके साँच्चै नै परिवर्तनको अनुभूति हुन सक्ने भएकाले यसतर्फ ध्यान दिनुपर्नेछ । विधिको शासनका माध्यमद्वारा सुशासनको प्रत्याभूति दिलाउनेतर्फ भावी सरकार र सत्ता गठबन्धनको विशेष ध्यान जानु जरुरी हुनेछ ।

यसैगरी, जनसहभागितामा सञ्चालन हुने शासन नै वास्तविक लोकतन्त्र हुने भएकाले जनप्रतिनिधिहरूले आफूलाई शासक होइन, जनताका प्रतिनिधिका रूपमा लिनुपर्नेछ भने जित्नेहरूले जितको अहंकार राख्ने र हार्नेहरूले हारको पीडामा गैरजिम्मेवार हुँदा त्यसले मुलुकलाई अलमलमा पार्ने भएकाले यस्ता प्रवृत्तिबाट दुवै पक्ष मुक्त हुनुपर्नेछ ।

झन्डै दुई तिहाइ स्थानमा विजय प्राप्त गरेको वाम गठबन्धनको सरकार गठन हुन गइरहेको सन्दर्भमा केही आशंका पनि रहेकाले मानवअधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति, शोषणरहित समाजको सुनिश्चितता, विधिको शासनसँगै समृद्धिको दिशामा अग्रसरताले नै मुलुकले फड्को मार्ने भएकाले यही नै यी सबैको प्रस्थान विन्दु बन्न सकोस्, यही कामना गर्नु उचित हुनेछ ।
हाम्रो कूटनीतिक मामला कमजोर छ । यसतर्फ विशेष ख्याल राख्नुपर्छ । अप्ठ्यारो पर्दा गुहार माग्ने र सजिलोमा सत्तोसराप गर्ने चरित्र स्वाभाविक होइन । दुवैतर्फका छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्ने र विगतमा भएका सन्धिसम्झौताको पुनरावलोकन गर्ने कार्यलाई गति दिई मुलुकको हितमा नयाँ सहमतिहरू गर्ने प्रयास गर्नेतर्फ अब बन्ने सरकारको ध्यान जानुपर्छ । उत्ताउलो हुने र एउटा छिमेकीलाई चिढ्याउने गरी अर्कोसँग साखुल्ले हुने नीति मुलुकको हितमा नहुने कुरा भावी सरकारका नेतृत्वकर्ताले बुझ्नुपर्छ ।

हाम्रा दलमा जिम्मेवारीबोध र जवाफदेहिता अभाव छ । भागबन्डे संस्कार हावी भएको तथा विचारको नभई अवसरको राजनीति हु“दा यथाशक्य बढी लाभ लिने मानसिकता मात्र राजनीतिक तहमा रहेको अनुभव गरिएको छ । यस सन्दर्भमा सम्पन्न निर्वाचनपश्चात् नया“ संविधानको भावना र मर्मबमोजिम काम कारबाही हुने अपेक्षा गर्नु अनुचित हुनेछैन

वाम गठबन्धनको नाममा निर्वाचनमा होमिएका कारण नै वाम वर्चस्व राम्रो देखिएपछि कतिपय नेताहरूको महŒवाकांक्षाका कारण पनि माओवादी एमाले एकीकरण आशंकामै छ । एमाले–माओवादी एकीकरणको व्यग्र प्रतीक्षामा रहे पनि कतिपय नेताका विवादास्पद धारणा सार्वजनिक भइरहेका छन् । यसले दुई दलको एकताप्रति नै आशंका उत्पन्न हुन पुगेको छ । स्वयं शीर्ष नेताहरूकै विरोधाभासयुक्त भनाइबाट पनि आशंकालाई बल मिलेका छन् ।
चुनावी गठबन्धन मात्र बनेको रहेछ कि भन्ने आशंका पनि गर्न थालिएको छ । सत्ता सहयात्राको सन्दर्भमा पनि दुई दलबीच आलोपालो गर्ने भन्ने सहमति भएको धारणा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट अभिव्यक्त भइसकेबाट पनि यो गठबन्धन पनि केवल सत्ताकै लागि मात्र पो हो रहेछ कि भन्ने आशंका आमसमर्थकमा उत्पन्न भएको छ ।

यसो भएमा राजनीतिक स्थिरता र समृद्धिको अपेक्षा गरिरहेका आमसमर्थकको अपेक्षामाथि तुषारपात हुनेछ । मुलुकलाई समृद्धि र विकास चाहिएको हो, जनतालाई सुख सुविधा चाहिएको हो, सुशासन चाहिएको हो, यसैले जसरी ठूला वाम दल गठबन्धन बनेर निर्वाचनमा होमिए र जेजस्तो परिणाम आयो, त्यसलाई हेर्दा दुवै पक्ष इमानदार भई सरकार गठन गर्ने र स्थिर सरकारका माध्यमद्वारा मुलुकलाई समुन्नतिको दिशातर्फ अग्रसर गराउन भूमिका खेल्नेछन् भन्ने अपेक्षा गर्नु पनि उचित नै हुनेछ ।

हाम्रा दलमा जिम्मेवारीबोध र जवाफदेहिता अभाव छ । भागबन्डे संस्कार हावी भएको तथा विचारको नभई अवसरको राजनीति हुँदा यथाशक्य बढी लाभ लिने मानसिकता मात्र राजनीतिक तहमा रहेको अनुभव गरिएको छ । यस सन्दर्भमा सम्पन्न निर्वाचनपश्चात् नयाँ संविधानको भावना र मर्मबमोजिम काम कारबाही हुने अपेक्षा गर्नु अनुचित हुनेछैन । त्यसो त अहिले पनि गठबन्धन बनाएर निर्वाचनमा होमिएका ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्रबीच सरकारको नेतृत्वमा भागबन्डाको कुरा आइसकेको छ तर यी दल अन्ततः एकीकृत हुने समेत सहमति भइसकेको सन्दर्भमा त्यस्तो भागबन्डाबाट राज्य सञ्चालन तथा कामकारबाहीमा खासै असर नपर्ने अपेक्षा गर्न सकिन्छ ।
सरकार जवाफदेही र जिम्मेवार नभएसम्म सुशासनको प्रत्याभूति सम्भव हुँदैन ।

नयाँ प्रणालीको स्थापना भएको सन्दर्भमा यसपश्चात् पनि पुरानै प्रवृत्ति कायम रह्यो भने त्यसले मुलुकलाई स्थायित्व र समृद्धि प्रदान गर्न सक्नेछैन । यहाँनेर पनि इच्छाशक्ति र अठोटकै आवश्यकता रहनेछ । त्यति मात्र नभई सरकार सञ्चालन गर्नेमा इमानदारिता पनि उत्तिकै आवश्यक रहनेछ । जनताको चाहना हक अधिकार र स्वतन्त्रताका साथै सुखी नेपाली र समृद्ध नेपाल हो । यसप्रति आगामी सरकार गम्भीर बन्नुपर्छ । सम्पन्न सबै तहका निर्वाचनमा वाम दलहरूको वर्चस्व मात्र देखिएन, प्रतिनिधित्वको हिसाबले पनि यो सशक्त देखियो । यसले नयाँ नेपालतर्फको यात्रालाई मार्ग प्रशस्त गरिदिएको छ ।

भविष्यमा अझ बलियो हुने अवसर पनि यो हो । यस अवसरको सदुपयोग गर्न सके वाम शक्तिहरूको प्रतिष्ठा समेत बढ्नेछ । यस रूपमा लिन सकेमा वाम गठबन्धनका लागि यो अवसर हो । यसैले जुलुस लिएर उत्तरी सीमातर्फ हानिने हतारोजस्तो अस्वाभाविक रूपमा उत्ताउलिने होइन, संयमित हुनु उचित हुनेछ । यसमै हाम्रो कल्याण हुनेछ ।

अन्त्यमा, अध्यादेशको अल्झोमा अलमलिएको राजनीतिलाई निकास दिनु अहिलेको प्रथम जिम्मेवारी हो । यसको सुझबुझपूर्ण समाधानमा दलहरूको अग्रसरता आवश्यक छ । झन्डै तीन करोड जनसंख्यामध्ये झन्डै आधा मतदाता सूचीमा समावेश छन् ।

पछिल्लो निर्वाचनमा त्यसमध्ये दुई तिहाइ मात्र मत खसेकोमा बदर मतको संख्यालाई घटाउँदा प्रस्ट हुन्छ, मुलुकको झन्डै एकतिहाइ जनसंख्याको मत हो यो । कुल जनसंख्याको दुई तिहाइ हिस्सा जनमतबाट बाहिरै रहेको अवस्थामा यसलाई कुन रूपमा लिने ? त्यसतर्फ पनि हाम्रा नेताले हेक्का राख्नु जरुरी छ । झन्डैझन्डै दुई तिहाइ स्थानका साथ व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्दै सत्तारोहण गर्ने तयारीमा रहेका नेकपा एमाले तथा माओवादी केन्द्रलाई सफल कार्यकालको हार्दिक शुभकामना ।राजधानीबाट

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *