अन्तरीक्षमा पुग्ने पहिलो जीव लाइका कुकुर

विज्ञान प्रबिधि

विज्ञानका किताब पढेका बच्चा बच्चाहरुलाई थाहा छ– अन्तरिक्षमा पुग्ने पहिलो जीव लाइका हो भन्ने कुरा । लाइका वास्तवमा, एउटा साधारण कुकुरको नाम हो । मस्कोको गल्ली गल्लीमा भौंतारिने कुकुर लाइकालाई तालीम दिएर सोभियत अन्तरिक्ष वैज्ञानिकहरुले प्रयोगको क्रममा अन्तरिक्षमा पठाएका थिए । त्यसले गर्दा उक्त साधारण कुकुरले असाधारण ख्याति र कीर्ति कमाउन पुग्यो । हुन त यस प्रयोगको क्रममा लाइकाको मृत्यु भयो, तर त्यस असाधारण परीक्षणको घटनाले गर्दा उक्त साधारण कुकुर लाइका विज्ञानजगतमा अमर बन्न पुग्यो । त्यसका साथसाथै, शीतयुद्धको चरम अवस्था रहेको त्यसबेला लाइकाको अन्तरिक्ष यात्रा र अन्तरिक्षमा नै उसको मृत्युले निक्कै ठूलो विवाद र चर्चा पनि जन्मायो ।

आउनुहोस्, लाइकाबारे केही जानकारी हासिल गर्ने कोशिस गरौं ।

दोस्रो विश्वयुद्धपछिको दुई ध्रुवीय विश्वमा अमेरिका र रुसबीच अन्तरिक्ष–अनुसन्धानमा आफ्नो सर्वोच्चता कायम गर्ने होडबाजी चलिरहेको थियो र अन्तरिक्षमा यान पठाउने विभिन्न कोशिसहरु भइरहेका थिए । यसै क्रममा रुसले मानव इतिहासमै सर्वप्रथम अक्टोबर ४, १९५७ मा स्पुत्निक १ नामक कृत्रिम भूउपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष यात्राको ढोका खोल्यो । शीतयुद्धकालीन त्यस समयमा अन्तरिक्षमा समेत सर्वोच्चता कायम गर्न खोजिरहेको शक्तिराष्ट्र अमेरिकाको कट्टर प्रतिस्पर्धीको रुपमा रहेको रुसले यसरी अन्तरिक्ष दौडमा आफ्नो सर्वोच्चता स्थापित गरेको थियो ।

स्पुत्निक १ लाई सफलतापूर्वक पृथ्वीको कक्षमा स्थापित गराएपछि रुसले अन्तरिक्षमा जीवलाई नै पठाउने महत्वाकांक्षी योजनालाई अघि सार्‍यो । यस योजनाअन्तर्गत उसले पहिले अन्तरिक्षमा जीव पठाउने र त्यसमाथि अन्तरिक्षमा पर्ने प्रभावहरुको अध्ययन गर्ने सोच बनायो । र, अन्तरिक्षमा पठाउनका लागि कुकुर छानियो ।

वास्तवमा, स्पुत्निक १ को सफलताले रुस निक्कै उत्साहित भएको थियो । यही उत्साहको क्रममा नै तत्कालीन सोभियत संघका सर्वोच्च नेता निकिता खु्रश्चोवले बोल्सेभिक क्रान्तिको चालिसौं वार्षिकोत्सवको अवसर पारेर नोभेम्बर ७, १९५७ कै दिन अन्तरिक्षमा जीवसहितको यान पठाउने इच्छा प्रकट गरे । त्यसबेला अन्तरिक्षमा पठाउनका लागि स्पुत्निक १ भन्दा निक्कै उच्च प्रविधियुक्त अन्तरिक्ष यान बनाउने कार्य भइरहेको थियो । तर तोकिएको उक्त मितिमा त्यस यानलाई पठाउन सम्भव थिएन । (पछि यस यानलाई स्पुत्निक ३ को रुपमा अन्तरिक्षमा पठाइएको थियो ।) फलतः अलि सरल प्रविधियुक्त अन्तरिक्ष यानको निर्माणमा सोभियत वैज्ञानिकहरु लागे । यतिबेलासम्म अक्टोबरको १०– १२ गते भइसकेको थियो । सोभियत वैज्ञानिकहरुसँग जम्माजम्मी ४ हप्ता मात्र बाँकी थियो । तर पनि सर्वोच्च समाजवादी भावना र लगाव अनि विज्ञान र प्रविधिमाथिको राम्रो पकडका कारण सोभियत वैज्ञानिकहरुले त्यस छोटो समयमा पनि सफलतापूर्वक अन्तरिक्ष यान बनाइछाडे । त्यस अन्तरिक्ष यानलाई स्पुत्निक २ नामाकरण गरियो । अन्तरिक्षमा जीव पठाउने उद्देश्यले बनाइएको यस यानमा अन्तरिक्षमा हुने रेडियो विकिरण र कस्मिक विकरणहरुलाई नाप्ने यन्त्रहरु पनि जडान गरिएका थिए ।

लाइकाः पहिलो जीव

अन्तरिक्षमा जीवलाई पठाउने योजना अन्तर्गत सोभियत वैज्ञानिकहरुले तीन वटा कुकुरहरुलाई त्यसअनुकूलको तालीम प्रदान गरिरहेका थिए । ती कुकरहरुमा अल्बिना, मुश्का र लाइका थिए । यसअघि तीमध्ये अल्बिना हाइअल्टिच्यूडले जीवमा पर्ने असरबारे अध्ययन गर्न गरिएका उडानहरुमा दुई पटक प्रयोग भइसकेको थियो भने मुश्कालाई पनि उडानका क्रममा प्रयोग हुने विभिन्न उपकरणहरु र जीवनप्रतिरक्षा प्रणालीसम्बन्धी प्रयोगमा उपयोग गरिएको थियो । उनीहरुलाई अन्तरिक्ष र स्पुत्निक २ को सानो कोठाको वातावरणसँग अभ्यस्त बनाउनको लागि २० दिनसम्म सानो खोरमा राखिएका थिए । त्यस खोरमा राखिएको अवस्थामा उनीहरुलाई अन्तरिक्ष यात्राको क्रममा भोग्नु पर्ने तीब्र गतिको दवाब र त्यसले पैदा गर्ने ध्वनिसँगको मिल्दोजुल्दो वातावरणमा राखेर त्यसका लागि अभ्यस्त बनाइएको थियो । तिनीहरुलाई अन्तरिक्षमा उपलब्ध गराइने उच्च पोषणयुक्त जेलीयुक्त खाना खान पनि सिकाइएको थियो ।

यसरी अन्तरिक्षमा पठाउनका लागि सोभियतसंघले तीन तीन वटा कुकुरलाई प्रशिक्षित एवं तयार गरेको थियो । तर अन्तरिक्षमा नै जाने सौभाग्य चाहिँ ती दुई कुकुरलाई छाडेर लाइकालाई प्राप्त भयो । उसलाई त्यसबेला प्रशिक्षित गरिरहेका अन्तरिक्ष–जीव वैज्ञानिक ओलेग गाजेन्कोले छनौट गरेका थिए ।

लाइका मस्कोका गल्लीहरुमा घुम्ने एउटा भुस्याहा कुकुर थियो । करीब ६ किलो तौल भएको तथा ३ वर्ष उमेरको यो कुकुरको वास्तविक नाम कुड्राइएभाका (रुसी भाषामा घुमाउरो केश भएकी सानी) थियो । रुसी अन्तरिक्ष अभियानका लागि छानिएपछि उसको नाम बदलेर झुच्का (साना कीरा) र पछि उसको नाम लिमोन्चिक (कागती) राखिएको थियो ।

लाइकालाई अन्तरिक्षमा पठाउनुभन्दा ३ दिनअगाडि नै अर्थात् अक्टोबर ३१, १९५७ का दिनमा नै अन्तरिक्ष यान स्पुत्निक २ मा राखिएको थियो । त्यसबेला यान प्रक्षेपण स्थलमा अति नै जाडो थियो । त्यसैले लाइकालाई राखिएको कक्षको तापक्रम व्यवस्थित गर्न एयर कन्डिसनर जोडिएको थियो । त्यस कक्षमा टेलिभिजन क्यामेरा, कक्षको तापक्रम र दवाब नाप्ने यन्त्र, लाइकाको रक्तचाप र श्वासको गति नाप्ने यन्त्रहरु पनि जडान गरिएका थिए । लाइकाको स्याहार गर्नका लागि त्यहाँ २ जना सहायकहरुलाई चौबीसै घण्टा खटाइएको थियो । लाइकालाई अन्तरिक्षमा पठाउनुभन्दा १ दिनअगाडि नोभेम्बर ३ का दिन उसको रौंलाई कम कडा बनाइएका अल्कोहलको घोलले पुछिएको थियो र त्यसलाई राम्ररी कोरिएको थियो । यानमा उसको सबै गतिविधिहरुलाई राम्ररी नियाल्न र अध्ययन गर्न सकिने गरी विशेष सेन्सरयन्त्रहरु जडान गरिएका थिए ।

लाइकालाई राखिएको कक्षमा उसलाई बस्न र उठ्नका लागि पर्याप्त ठाउँ थियो । कक्षमा अक्सिजनलाई पुनः उत्पादन गर्ने प्रणाली जडान गरिएको थियो, जसले गर्दा लाइकाका लागि आवश्यक अक्सिजन नियमित आपूर्ति होस् । उसको लागि आवश्यक खाना र पानी जेलीको रुपमा राखिएका थिए । उसलाई बाँधिएको थियो र उसको शरीरमा मलमूत्र संकलन गर्न एउटा व्याग बाँधिएको थियो । साथै उसको शरीरको गतिविधि र आउने परिवर्तनहरुको सुक्ष्म अध्ययन गर्न इलेक्ट्रो रडहरु बाँधिएका थिए ।

नोभेम्बर ४, १९५७ का दिन । अन्तरिक्ष इतिहासमै सबैभन्दा महत्वपूर्ण दिन । लाइकालाई राखिएको स्पुत्निक २ लाई सोभियत संघको बाइकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरियो । प्रक्षेपण सफलतापूर्वक भयो ।

यान प्रक्षेपण गर्दा लाइकाका मुटुको गति तीन पटकसम्म असामान्य रुपले बढेको देखियो । भारहीनताको क्षेत्रमा प्रवेश गरेपछि उसको मुटुको गति केही घट्यो । तर त्यसरी घट्नको लागि प्रशिक्षणकालीन अवस्थामा देखिएको भन्दा तीन गुना बढी समय लाग्यो ।

तर उक्त यान पृथ्वीको कक्षमा प्रवेश गर्ने क्रममा त्यसको उच्चताप नियन्त्रण गर्ने प्रणालीमा केही गडबडी पैदा भयो । त्यसबेला उच्च तापलाई रोक्न र नियन्त्रण गर्न यानमा जडान गरिएको ताप प्रतिरोधक तह (Thermal insulation) पनि केही च्यातियो । फलतः स्पुत्निक २ को लाइका राखिएको कक्षमा तापक्रम ४० डिग्री सेन्टिग्रेट (१०४ डिग्री फरेनहाइट) सम्म पुग्यो । भनिन्छ, त्यसले गर्दा अन्तरिक्षमा पठाइएको केही घण्टापछि नै लाइका तनाव र अति बढी तातोका कारण मर्‍यो ।

सो त लाइकालाई अन्तरिक्षबाट जीवित फर्काउन सकिन्छ भन्ने सोचाइ सोभियत वैज्ञानिकहरुको पनि थिएन । अन्तरिक्ष यात्राको क्रममा हुने सम्भावित खतरा–पीडाबाट मुक्ति दिलाउन लाइकालाई १० दिनपछि विषाक्त खाना खुवाएर अन्तरिक्षमा नै मार्ने गरी तयार गरिएको थियो । त्यसैले लाइकाको मृत्यु कसरी भयो भन्ने कुरा निक्कै लामो समयसम्म रहस्य र विवादको विषय बनेको थियो । त्यसबेला उसको मृत्युको वास्तविक कारण तत्काल बताइएको थिएन । रुसले त्यसबेला लाइकाको मृत्युको कारण विषालु खाना वा अक्सिजनको सप्लाई रोकिएको कारण भएको हुन सक्ने बताउँदै आएको थियो । त्यसैले लाइकाको मृत्युबारे धेरै अनुमानजनित हल्लाहरु चलेका थिए । तर धेरै पछि आएर सोभियत स्रोतले के पृष्टि गर्यो भने लाइकाको मृत्यु यान प्रक्षेपणको चार दिनपछि अति गर्मीका कारण भएको थियो । तर पछि अक्टोबर २००२ मा आएर स्पुत्निक अभियानका एक प्रमुख हस्ति डा. दिमित्री मालासेन्कोभले के रहस्योद्घाटन गरे भने, स्पुत्निक अन्तरिक्षमा पठाएको पाँचदेखि ७ घण्टाको अवधिभित्रमा नै लाइका तनाव र अति बढी गर्मीका कारण मरेको थियो । लाइकालाई अन्तरिक्षमा लिएर जाने स्पुत्निक २ लाई पनि पृथ्वीको कक्षमा २५७० चक्कर लगाइसकेपछि अप्रिल १४, १९५८ का दिन पृथ्वीमा फर्काउने क्रममा नष्ट गरिएको थियो ।

विवादहरू

लाइकालाई अन्तरिक्षमा पठाउँदा त्यसलाई जीवितै पृथ्वीमा फर्काउने हिसाबले पठाइएको थिएन । त्यसैले उसको नियोजित हत्या गरिएको आवाज विश्वभरि नै उठ्यो । अन्तरिक्ष प्रयोगको यो घटनालाई रुसविरोधीहरुले ठूलो प्रोपोगण्डाको रुपमा उपयोग गर्न खोजे । बेलायतमा नेशनल केनाइन डिफेन्स लिगले सबै कुकुर धनीहरुलाई लाइकाको मृत्युको विरोधमा एक मिनेट मौनधारण गर्न आव्हान गरे । जनावरमाथि हुने अत्याचारविरोधी समाजले तथा जनावर अधिकार समूहहरुले सोभियत दूतावासहरुको अगाडि विरोध प्रदर्शनहरुको आयोजना गरे । अन्तरिक्ष अनुसन्धानका लागि कोसेढुंगा सावित भएको यो घटना पनि त्यसैबेलाको दूषित विश्वराजनीतिको तारो बनेको थियो ।

विश्व चर्चित बन्यो लाइका

लाइकाको अन्तरिक्ष यात्रा विज्ञानको इतिहासमा ठूलो घटना थियो । त्यसैले लाइका रातारात विश्वचर्चित बन्यो । ऊ विश्वकै सबैभन्दा चर्चित कुकुर बन्यो । रुसमा उसका प्रतिमाहरु स्थापना गरिए । विश्वका विभिन्न मुलुकहरुले लाइकाको सम्मानमा हुलाक टिकट जारी गरे । लाइकाका सम्मानमा धेरै स्मृति चिन्हहरु तयार गरिए र विश्वभरि नै अझै पनि त्यसको विक्रीवितरण हुने गरेको छ ।

लाइकालाई त अन्तरिक्षमा मानिसलाई पठाउन सम्भव छ कि छैन ? पृथ्वीको कक्षमा यान पठाउँदा त्यसमा सवार मानिस बाँच्न सक्छ कि सक्दैन, भारहीनताले मानिसमा कस्तो प्रभाव पर्न सक्छ, जस्ता कुराहरु थाहा पाउनको लागि पठाइएको थियो । यस अर्थमा लाइकालाई अन्तरिक्षमा पठाउने अभियानको क्रममा उसको दुःखद मृत्यु भए तापनि त्यसले अन्तरिक्षमा मानिस पठाउने सम्भावनाको ढोका र बाटो खोल्ने काम गरेको थियो । लाइकाको प्रयोगले नै अन्तरिक्षको वातावरणमा जीवित वस्तुहरुमाथि के कस्ता प्रभावहरु पर्दा रहेछन् भन्ने प्रथम जानकारी वैज्ञानिकहरुले पाएका थिए । लाइकामाथि गरिएको अध्ययनअनुसन्धानको आधारभूमि नै पछि सोभियत संघले पहिलो पटक अन्तरिक्षमा मानिस पठाउने सफलता प्राप्त गरेको थियो भने अमेरिकाले पनि तिनै आधारभूमिमा नै पछि गएर मानिसहरुलाई अन्तरिक्षमा पठाउन सकेको थियो ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *