पुँजी बजारमा सुधारको संकेत

अर्थ / वाणिज्य

काठमाडौं। पुँजी बजारमा सुधारको संकेत देखिएको छ । अब नयाँ आर्थिक वर्ष सुरु हुनै लागेकाले पनि बजारमा विस्तारै माहोल आउने अनुमान गरिएको छ । असार मसान्तमा कर्जाको साँवा र ब्याज भुक्तानीको दबाब पर्ने भएकाले पनि बजार निकै सुस्त रहन गएको अनुभवीहरुको भनाई छ ।

साउन लागेसँगै बजारले क्रमशः गति लिने अपेक्षा बढेको छ । साउनपछि बैंक तथा वित्तीय संस्थाहरुले पनि नयाँ ऋण प्रवाहलाई प्राथमिकतामा राख्छन् । असारमा प्रायः बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह भन्दा असुलीमा जोड दिने गर्छन् । यसले गर्दा लगानीकर्तासँग लगानी क्षमता तुलनात्मक रुपमा कमजोर हुने गर्छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउने क्रम सुरु हुनेछ । अधिकांशले नाफा कमाउने तेस्रो त्रैमाससम्मको रिपोर्टले संकेत गरेको छ । वित्तीय प्रतिवेदनपछि लाभांश घोषणा र साधारण सभाको माहोल सुरु हुने भएकाले लगानीकर्ता थप उत्साहित हुने विश्वास छ । यद्दपि, बजारको प्रवृत्तिका बारेमा ठोकुवा गर्न भने गाह्रो हुन्छ । सेयर बजारमा नीतिगत र कानुनी पाटोबाट हेर्दा खासै समस्या छैन ।

आम लगानीकर्ताको अपेक्षा अनुसार बजार माथि जान नसक्नुको एउटा महत्वपूर्ण पक्ष भनेको बैंक ब्याजदर हो । कर्जाको ब्याजदर तुलनात्मक रुपमा अहिले पनि महँगो छ । यसले पनि लगानीकर्तालाई खासै तान्न भने सकेको छैन । यद्दपि, दीर्घकालीन लगानीकर्ताका लागि भने अहिले बजारमा प्रवेश गर्ने उपयुक्त समय रहेको विश्लेषकहरु बताउँछन् । सबल वित्तीय सूचक भएका कम्पनी छनोट गरी दीर्घकालीन अवधिका लागि लगानी गर्न सके भविष्यमा राम्रो लाभ लिन सकिने सम्भावना छ ।

नेप्से सूचक सोमबार ५.०८ अंकले बढेर १२५४.५६ विन्दुमा आइपुगेको छ । बजार समग्रमा ०.४१% ले बढेको हो । १७० कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ लाख ७३ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको सेयर कारोबार भएकामा सबैको सूचक बढेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक ३६.६९ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक पनि २.७६ अंकले माथि लागेको छ ।

कारोबार रकममा नेपाल बैंकले अग्रता कायम गरेको छ । यसको ५ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्रीकै आधारमा दोस्रो नम्बरमा शिवम् सिमेन्ट्स परेको छ । यसको ३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको हो । सबैभन्दा बढी ५% का दरले स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । अधिकतम गुमाउनेमा नबिल बैंकका लगानीकर्ता रहेका छन् । उनीहरुले ३.१५% का दरले गुमाएका हुन् ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *