हिमाल दोलखाको आइपीओमा २५ लाख ९० हजार कित्ताका लागि पर्यो आवेदन

अर्थ / वाणिज्य

काठमाडौं ।  हिमाल दोलखा हाइड्रोपावरको आइपीओमा २५ लाख ९० हजार ४१० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार बिहानसम्म ५९ हजार ४२८ जनाले २५ करोड ९० लाख ४१ हजार रुपैयाँ बराबरको आइपीओ भरेका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

तर यसबीचमा माग अनुसार आवेदन परेमा भने पूर्वसूचना दिएर बिक्री बन्द गरिने कम्पनीको भनाई छ । हिमाल दोलखाले असार २५ गतेदेखि कुल ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ । साथै, २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यसअघि स्थानीयलाई खुला गर्दा नबिकेको १४ लाख ७२ हजार २१० कित्ता सेयरसमेत थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

हिमाल दोलखाले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत ८ मेगावाट छन् । माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रुपैयाँ हुन आउँछ । यस्तै, माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ छ ।

यसको प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रुपैयाँ पर्छ । हिमाल दोलखाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुर्याउनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म खुद नाफा १२ करोड १० लाख ३२ हजार रुपैयाँ पुग्ने प्रक्षेपण छ । यस्तै, आव २०७६।७७ मा १२ करोड १२ लाख र आव २०७७।७८ मा १४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाउने अनुमान छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *