सञ्चालक समिति सदस्यलाई नर्सिङ सिट भागबन्डा

पत्रपत्रिका समाचार

काठमाडौ ।ओखलढुंगा स्कुल अफ हेल्थ साइन्समा आएको नर्सिङ अध्ययनको सिट सञ्चालक समितिका पदाधिकारीले भागबन्डा गरेर लिएका छन् । क्याम्पसमा उपलब्ध २० वटा नर्सिङ सिटमध्ये १२ वटा सिद्धिचरण नगरपालिकाका मेयरदेखि सिटिइभिटीका कर्मचारी र उद्योग वाणिज्य संघका पदाधिकारीसम्मलाई भाग लगाइएको छ । सञ्चालक समितिको यो निर्णयबाट पहुँच नहुनेहरूले नर्सिङ अध्ययन गर्न नपाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सम्बन्धनमा ०७५/७६ देखि ओखलढुंगामा नर्सिङ कक्षा सञ्चालन भइरहेको छ । क्याम्पसले शैक्षिक सत्र ०७६/७७ का लागि २० सिट पाएको थियो । त्यसमध्ये १२ सिट सञ्चालक समितिमा रहेका जनप्रतिनिधि, व्यापारी र कर्मचारीले आफन्तलाई सिफारिस गर्न मिल्ने गरी भागबन्डा गरेका हुन् ।

सञ्चालक समितिमा जोजो छन्, उनैको भागमा कोटा
ओखलढुंगामा सञ्चालित स्कुल अफ हेल्थ साइन्सको कोटाबारे ८ साउनमा सिटिइभिटीको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । बैठकको अध्यक्षता नर्सिङ कलेजका निर्देशक तथा सिटिइभिटीका कर्मचारी विनयकुमार मिश्रले गरेका थिए । बैठकमा सहभागी हुन ओखढुंगामा भएका सञ्चालक समिति सदस्यहरू पनि काठमाडौं पुगेका थिए ।

सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेल बैठकमा सहभागी थिए । उनीहरूले आफैँले सिफारिस गर्न मिल्ने गरी कोटा भाग लगाएका छन् ।

जसअनुसार सिद्धिचरण नगरपालिकालाई दुई, वाणिज्य संघलाई दुई, सिटिइभिटीका कर्मचारीलाई एक र सामुदायिक अस्पताललाई एउटा कोटा भाग लगाइएको छ । त्यस्तै, पुरुषका लागि तीन, छात्रवृत्तिका लागि दुई र अनमीका लागि एउटा कोटा छुट्याइएको छ । बाँकी आठ सिट मात्र खुला प्रतिस्पर्धाबाट चयन गरिने निर्णयमा उल्लेख छ । जिल्लाका वर्तमान तथा पूर्वसांसदको मागअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पहलमा गत वर्षबाट ओखलढुंगामा नर्सिङ क्याम्पस सञ्चालनमा आएको हो ।

निर्णयको चौतर्फी विरोध
जनप्रतिनिधिकै उपस्थितिमा व्यापारी र कर्मचारीले नर्सिङ कक्षाको विद्यार्थी कोटा भागबन्डा गरेपछि यसको विरोध भएको छ । निर्णयको प्रतिलिपि सार्वजनिक भएसँगै विद्यार्थीका संघ–संगठन, अभिभावक र सरोकारवालाले विरोध जनाएका हुन् ।सांसद यज्ञराज सुनुवारले अहिले भएको निर्णय गलत रहेको बताए । ‘यदि भागबन्डाको निर्णय भएकै हो भने त्यो गलत हो,’ उनले भने, ‘यसो गर्न मिल्दैन । क्षमतावान् विद्यार्थीले प्रतिस्पर्धा गरेर पढ्न पाउनुपर्छ ।’

सञ्चालक समितिले विधि, पद्धति र नागरिकको हितविपरीत निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको भनाइ छ । ओखलढुंगाका क्याम्पस सञ्चालक समितिका पदाधिकारीसमेत काठमाडौं पुगेर एकलौटी निर्णय गरेको भन्दै श्रेष्ठले त्यसलाई सच्याउनुपर्ने बताए । ‘इच्छुक सबै सर्वसाधारणले प्रतिस्पर्धाका आधारमा पढ्न पाउनुपर्छ,’ उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा सञ्चालक समितिले भागबन्डा गरेर कस्तो जनशक्ति उत्पादन गर्न खोजिएको हो ? यो निर्णय सच्याउन जरुरी छ ।’ जिल्लामा बैठक बस्दा भागबन्डाको सहमति नहुने भएकाले सञ्चालक काठमाडौं पुगेर बैठक बसेको उनको आरोप छ ।

गाउँमै नर्सिङ क्याम्पस सञ्चालन भएपछि पढ्न पाउने रहर बोकेर फाराम भरेका विद्यार्थीले पनि निर्णयको विरोध गरेका छन् । ‘मन्त्री र सांसदले जिल्लामै नर्सिङ क्याम्पस सुरु भयो । पढ्नुस् अघि बढ्नुस् भनेको सुनेर पढ्ने रहर जगेको थियो,’ नर्सिङ कक्षाका लागि फाराम भरेकी एक छात्राले भनिन्, ‘न मैले सिद्धिचरण नगरपालिकाको मेयर चिनेको छु, न त उद्योग वाणिज्य संघका अध्यक्ष । अब मैले यहाँ पढ्न पाउने रहेनछु ।’ १२ वटा कोटा भागबन्डा गरेर आठवटामा प्रतिस्पर्धा गर्ने भनिए पनि त्यसमा पनि निष्पक्षता नहुने विद्यार्थीको धारणा छ ।

विद्यार्थी नेताले कोटा भागबन्डाको निर्णय तत्काल बदर नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘सुन्दै अच्चम्म लाग्ने के निर्णय गरेका होलान्, बुझेकै मान्छेले यसरी विद्यार्थीको कोटा बाँडेर खाने काम राम्रो होइन । निर्णय सच्याएर २० वटै सिटमा क्षमताका आधारमा भर्ना गराइनुपर्छ,’ नेकपानिकट विद्यार्थी नेता दीपक फुयाँलले भने, ‘यदि पेलेर जान खोजे हामी चुप बस्दैनौँ । राज्यको निकायमा व्यक्ति हाबी हुन मिल्दैन ।’

ओखलढुंगा क्याम्पसका स्ववियु उपाध्यक्ष निशान श्रेष्ठले विद्यार्थीको मनोभावनाविपरीत भएको निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिए । ‘अब नर्सिङ पढ्नेले मेयर र कर्मचारी अनि व्यापारीलाई ढोग्न जानुपर्ने ? नत्र पढ्न नपाउने ? यो दुनियाँमा कतै नभएको हाम्रो जिल्लामै किन हुन्छ ?’ उनले भने, ‘निर्णय बदर गरेर प्रतिस्पर्धाका आधारमा क्षमता भएका इच्छुकलाई अवसर नदिए आन्दोलन हुन्छ ।

त्यसको जिम्मेवारी यिनै हस्ताक्षरकर्ताले लिनुपर्छ ।’ सामाजिक सञ्जालमा समेत कोटा भागबन्डाको तीव्र आलोचना भइरहेको छ । तर, ओखलढुंगा स्कुल अफ हेल्थ साइन्सका सञ्चालक समिति अध्यक्ष मिश्रले पदाधिकारीको सिफारिसमै विद्यार्थी भर्ना गरिने बताए ।

क्याम्पस अध्यक्ष भन्छन्– कोटा कसलाई दिने भन्ने निर्णय हामी नै गर्छौँ
कोटा कस–कसलाई दिने भन्ने निर्णय व्यवस्थापन समितिले नै गर्ने हो । हामीले त्यो निर्णय गरेका छौँ । कोटामा परे भन्दैमा कमजोर विद्यार्थीले अवसर पाउँदैन । प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीले मात्र छुट्याइएको कोटामा अध्ययन गर्न पाउँछ । नयाँपत्रिकाबाट

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *