यसरी तातिँदै छ पृथ्वी, काठमाडौंको अवस्था के ?

पत्रपत्रिका

बीबीसी । जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्। तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो।त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको छ।

यसलाई वैज्ञानिकले अत्यन्त जोखिमपूर्ण मानेका छन्। विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरूले औंल्याएका छन्। इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले बढ्दो तापक्रम नियन्त्रण गर्न नसके ठूलो विनाशको सामना गर्नुपर्ने चेतावनी दिइसकेको छ।

अहिलेकै गतिमा रहने हो भने यो शताब्दीको अन्त्यसम्ममा ३ देखि ५ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने वैज्ञानिकहरुले आँकलन गरेका छन्। त्यसरी तापक्रम बढेमा समुद्री सतह उठ्ने, लाखौं मानिस विस्थापित हुने, कतै खडेरी पर्ने, कतै भारी वर्षा हुने अवस्था आउनेछ। धान, मकै, गहुँजस्ता अन्नबाली उत्पादन क्षमता पनि खतरामा पर्नेछ।

न्युयोर्कमा यसपालि अत्यधिक गर्मी भयो। करिब ८० लाखको बसोबास रहेको न्युयोर्क अमेरिकाको सबैभन्दा व्यस्त सहर हो। यो सहर तटीय क्षेत्रमा आउने बाढी र आँधीबेहरीको उच्च जोखिममा छ। जलवायु परिवर्तनकै कारण यस्तो भएको हो। वैज्ञानिकहरूका अनुसार यहाँको समुद्री सतह उचालिइरहेको छ। यूएस इमर्जेन्सी एजेन्सीका अनुसार यो शताब्दीको मध्यसम्ममा न्युयोर्कको एक चौथाइ भाग बाढीको जोखिमयुक्त क्षेत्रमा पुग्नेछ। यसबाट १० लाख जनसंख्या विस्थापित हुनेछ।

त्यसैगरी उत्तरी धुव्र मानिने आर्टिक क्षेत्र विश्वका अन्य भागको तुलनामा दोब्बर तातो भइसकेको छ। वैज्ञानिकहरूले यसलाई तापमान वृद्धिको असरको पराकाष्ठा मानेका छन्।

यता इन्डोनेसियाको राजधानी जकार्ता विश्वमै द्रुत गतिमा भासिँदै गएको एउटा सहर हो। यहाँ करिब एक करोड जनसंख्या बस्छ। सहरको उत्तरी क्षेत्रका केही भाग २५ सेन्टिमिटर प्रतिवर्षका दरले भासिँदै गइरहेको अध्ययनले देखाएको छ। जमिनमुनिको पानीको अत्यधिक दोहनले निम्त्याएको समस्या हो यो। त्यस्तै जलवायु परिवर्तनका कारण समुद्री सतहमा देखिएको वृद्धिको परिणामसमेत भएको जनाइएको छ।

विज्ञहरूले सन् २०५० सम्म जमिनमुनिबाट पानी निकाल्ने काम पूर्ण रूपमा बन्द गर्न सजग गराएका छन्। त्यस्तै पाइपमार्फत भण्डारण गरिएको पानीमा आफूलाई निर्भर गराउन सुझाव दिएका छन्।

काठमाडौंको अवस्था के ?

काठमाडौंको दस वर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ। जनवरीमा ८ डिग्री सेल्सियस। यहाँको तापक्रम तीव्र गतिमा बढ्दो छ। त्यसलाई रोक्न पर्याप्त मेहनत पुगेमा पनि सन् २१०० मा जनवरीमा ९.५ र जुलाईमा २३.४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ।

त्यसका लागि ग्रिनहाउस ग्यास उत्सर्जन बढाउनुपर्ने हुन्छ। निम्न–मध्यम स्तरीय मेहनत भएमा जनवरीमा ४.१ र जुलाईमा २.८ सेल्सियस तापक्रम थपिनेछ। उच्च–मध्यम सफलता भएमा जनवरीमा ४.६ र जुलाईमा ३.५ तथा खराब अवस्थामा जनवरीमा ७.६ र जुलाईमा ५.२ डिग्री सेल्सियस तापक्रम बढ्ने छ। त्यस अवधिमा विश्वको तापमान वृद्धि औसत ३ देखि ५ डिग्री हुनेछ। नीति र व्यवहार परिवर्तन नगरी खराब अवस्थामा गयो भने नेपाल विश्वकै तातो ठाउँ बन्न पनि सक्नेछ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *