लोप हुने हो कि मितेरी साइनो ! कसरी बन्छ त मित ? 

पत्रपत्रिका समाचार

काठमाडौँ, साउन १९ गते । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ”
उहाँको मितिनीको नाम प्रमिला थापा हो ।

श्रेष्ठले थप्नुभयो, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी र म पनि एक्ली छोरी भएका कारण आमाले मित लगाइदिएको भन्नुहुन्थ्यो । ” उहाँले दशैँ, तिहारमा मितिनीको घर जाने, रमाइलो गर्ने गरेको स्मरण गर्नुभयो । पछि मितभाइ जन्मेपछि मेरो भाइ नभएकाले उनैलाई भाइटीका लगाउँदा अझै रमाइलो हुन थाल्यो । मेरो बिहे भयो, पछि मितिनीको पनि बिहे भयो, त्यसपछि भने भेटघाट हुन छाड्यो, श्रेष्ठ पुराना दिन स्मरण गर्नुहुन्छ ।

संस्कृतविद् डा. सत्यमोहन जोशी भन्नुहुन्छ, “मितेरी साइनो भनेको एक प्रकारको ऊर्जावान साइनो हो । मेरा पनि मित हुनुहुन्थ्यो, निधन भइसक्यो । मित साइनोले दुई फरक भूगोल, परिवेश, पृष्ठभूमि, संस्कृति, समाज, परिवार र व्यक्तिलाई जोड्छ ।” जोशीले भन्नुभयो, “सोलुखुम्बुको शेर्पा र

सर्लाहीका यादवलाई एउटै थालमा खाने घनिष्ठ मित्र बनाइदिन्छ भने झापाको क्षेत्री र पाँचथरका लिम्बूलाई मित्र बनाइदिन्छ । ”
तर, अहिले मितेरी साइनो ‘दुर्लभ’ भइसक्यो । जोशी भन्नुहुन्छ, “प्रेम प्रकट गर्ने सबैभन्दा महìवपूर्ण माध्यम मित्रता हो । असल मित्रको सङ्गत अनि हितैषी मित्रको साथ पाउनु संसारको सबैभन्दा
दुर्लभ कुरा पनि हो । ”
मित्रसँग बस्दा एक प्रकारको निर्धक्क महसुस हुन्छ । संस्कृतिविद् जोशीले थप्नुभयो, “केही लुकाउनु नपर्ने र हृदय खोलेर ढुक्कसँग आफूलाई अभिव्यक्त गर्न सकिने हुनाले मित्रहरूसँगको बसउठले जीवनमा ऊर्जा भर्ने तथा बहार ल्याउने काम गर्छ । ”
मानसिक रोग विशेषज्ञ रवि शाक्य भन्नुहुन्छ, “मित्रतापूर्ण व्यवहारले मानसिक सन्तुलन गुमाएकाहरूलाई समेत ठीक बनाउन सहयोग मिल्छ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पीर परेर हुने खालका मानसिक समस्या मित लगाउने वा मिल्ने साथी पाएपछि कम हुन्छन् । ”
मित साइनोलाई धेरै महìवपूर्ण रूपमा हेर्नुहुन्छ, ७३ वर्षीय लालबहादुर कार्की । उहाँले आफूले मितज्यूबाट धेरै मद्दत पाएको र उहाँसँगको सङ्गतमा धेरै रमाइलो गरेको अनुभव सुनाउनुभयो । कार्की भन्नुहुन्छ, “२० वर्षको उमेरमा मधेसीमूलका युवकसँग मित लगाएको थिएँ, तराई जाँदा नराम्ररी बिरामी परेकाले मितज्यूले नै मद्दत गरी घरमा आश्रय दिएर मेरो उपकार गरिदिनुभएको थियो । ”मित लगाउनु भनेको मित्रतालाई बलियो एवं दिगो बनाउने प्रयास हो ।

अनुहारको रूपरङ्ग, जातधर्म, वेशभूषा, उमेर आदिजस्ता कुनै पनि कुरा मित गाँस्ने सन्दर्भमा बाधा बन्दैनन् । “मित मन र भावनाको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने क्रममा सुखदुःखलाई साझा भोगाइमा ल्याएर जीवनको मिठास बाँड्ने सम्बन्ध हो,” उहाँले भन्नुभयो । विज्ञान विषयमा प्रमाणपत्र तह अध्ययनरत अन्जना अधिकारीलाई ‘मित साइनो’ भनेको के हो थाहै छैन । उहाँले भन्नुभयो, “गीत त सुनेको थिएँ तर मित भनेको के हो थाहा छैन । ”

पौराणिक ग्रन्थहरूमा मित्रताका निकै राम्रा उदाहरण पाइन्छ । तीमध्ये पनि राम र सुग्रीवको मित्रता, कर्ण र दुर्योधन, कृष्ण र सुदामा, मित्र र वरुण दुई दाजुभाइको मित्रता आदर्श मित्रता मानिन्छ ।

मित लगाउने नेपाली चलन
प्राध्यापक गोविन्द मिश्र भन्नुहुन्छ, “मित लगाउने कामले भावनात्मक सम्बन्ध कसिलो बनाउँछ, सुखदुःखमा मेरा पनि कोही छन् है भन्ने भाव जगाउँछ । अनि नेपाली समाजमा मरेपछि पनि अन्त कतै बास नपाए मितको घरमा बास पाइने
मान्यता छ । ”
मित वा मितिनीका पति तथा पत्नीलाई पनि मित र मितिनी नै भनेर सम्बोधन गरिन्छ । त्यस्तै मितदाइ, मितभाइ, मितिनीदिदी वा बहिनी, मितबा, मितिनीआमा जस्ता साइनो पनि नेपालीबीच प्रिय छन् ।

यस्ता साइनो नेपाली समाजको जरासम्म भिजेको पाइन्छ । संस्कृतिविद् जोशीले नेपाली संस्कृतिले मितेरी सम्बन्धलाई ठूलो मानेको कुरा स्वस्थानी व्रत कथाबाट थाहा पाउन सकिने बताउनुभयो । त्यसमा व्रतालुले स्वस्थानीको प्रसाद सकेसम्म छोरा नभए मितछोरालाई दिनू भनेर मितेरी सम्बन्धको महìव उजागर गरेको छ ।

इतिहासमा मितेरी साइनो
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा मितेरी सम्बन्धलाई कूटनीतिक रूपमा प्रयोग गरेका थिए । शाहले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए । गोरखाका राजा राम शाहले ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग, गोरखाका राजा पृथ्वीपति शाहले काठमाडौँका राजा नृपेन्द्र मल्लसँग र नरभूपाल शाहले रणजित मल्लसँग मित लगाएका थिए ।

“नेपालीको आस्था, विश्वास, मूल्य, मान्यता र संस्कृतिको कमजोरीलाई बुझेका अङ्ग्रेज प्रशासक मेजर जनरल अक्तर लोनीले आफ्ना छोरा लुनीअक्तरसँग बडाकाजी अमरसिंह थापाका छोरा राम थापाको मितेरी साइनो लगाइदिएका थिए । परिणामस्वरूप नेपालीले कुमाउ र गढवालबाट हात धुनु परेको थियो । (इन्दिरा जोशी, नेपाल अङ्ग्रेज युद्ध, पृष्ठ १०३) । ”

कसरी बन्छ त मित ?
मितेरी साइनो गाँस्ने क्रममा कुनै मन्दिरमा गई वा उपयुक्त स्थानमा मण्डप वा वेदी नै तयार गरी गणेश, दीप र कलश स्थापना गरी हवन गराई अष्टचिरञ्जीवी र नवग्रहहरूको पूजा गरी–गराई मितेरी साइनो सम्बन्ध गाँस्ने परम्परा रहेको पाइन्छ ।
सजना श्रेष्ठ सम्झनुुहुन्छ, “मलाई मित लगाइदिँदा एउटा कोठामा लगियो, पर्दाले एकअर्कोको मुख नदेख्ने गरी छोपेर टीका लगाइदिनुभयो । पर्दा हटाएपछि दुवैलाई अँगालो मार्न लगाइयो, उपहार साटासाट भयो र मितिनी–मितिनी भइयो ।

धार्मिक मान्यतामा मित साइनो
नेवारहरूमा ईही संस्कारको सप्तपानको पातमा हिँडाउने विधि सकेपछि मित लगाउने विधि गरिन्छ । सात पाइलासँगै हिँडेपछि मित्रको छनोट गर्नु भनिएको हो । यस संस्कारमा आफ्ना बच्चीहरूको मन मिल्ने साथीसँग मित लगाई मितको महìवलाई स्वीकारेको हुन्छ । यो विधिमा पुरोहितले नै विधिपूर्वक एकआपसमा उपहारको आदानप्रदान गराई ईश्वर साक्षी राखी मितेरी साइनो लगाइन्छ (मञ्जरी प्रधान, नेवार समाज र इही, पृ.सं. ४४) ।
स्वयम्भू अवस्थित हारती मातासँग पनि आफ्ना बच्चाहरूको मित लगाउने प्रचलन छ । हारती मातासँग मित लगाउँदा आफ्ना बच्चाहरू निरोगी हुन्छन् भन्ने जनविश्वास छ । मित लगाइसकेपछि यस सम्बन्धले पारिवारिक सदस्यको मान्यता
प्राप्त गर्छ ।

सामाजिक मूल्यमा मित
मितेरी साइनोको आयामभित्र धार्मिक र सांस्कृतिक चिन्तनका साथसाथै सामाजिक मूल्य र मान्यता रहेको पाइन्छ । पहिले–पहिले अहिलेजस्तो बाटोघाटो र यातायातको सुविधा थिएन । त्यस अवस्थामा धेरै दिनसम्म लामो पैदलयात्रा गर्नुपर्ने हुन्थ्यो । खानपानको समस्याका साथसाथै बीच बाटोमा बास बस्नुपर्ने हुन्थ्यो तर यसरी विभिन्न ठाउँका मित्रहरूसँग साइनो गाँसिसकेपछि त्यही साइनोका आधारबाट आफ्नो मितज्यूकहाँ खानपान गर्ने र बास बस्ने यात्राको तालिका बन्थ्यो ।

दुई जातबीचको सम्बन्ध
अझ भिन्न जातजाति र संस्कृतिबीच मितेरी लगाउने प्रचलनले धार्मिक र सांस्कृतिक चेतना आदानप्रदानमा सकारात्मक भूमिका निर्वाह गरेको पाइन्छ । हिमालवासीले तराईवासीसँग र तराईवासीले
पहाडवासीसँग मित लगाई राष्ट्रिय एकता बलियो बनाउन मितेरी संस्कृतिले प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ ।

मित फिर्ता गर्ने
मितको कुरा काट्न नहुने र मितको नाम लिन नहुने भन्ने मान्यता हाम्रो समाजमा अहिले पनि विद्यमान नै छन् । कुनै कारणवश झगडा अथवा कुरा नमिलेको खण्डमा जसरी मित लगाएको थियो, त्यसरी नै मित फर्काउने चलन पनि रहेको छ ।

 

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *