मौसमविद् भन्छन्, तीन दिन भारी वर्षाको सम्भावना

मुख्य समाचार

काठमाडौँ । नेपालका कतिपय स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना छ । अधिकांश भेगमा भने सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, शनिबार तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा चितवन, भैरहवा आसपास बिहानैदेखि हल्का वर्षा भएको छ । त्यस्तै, पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ ।

देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन । तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालले बताउनुभयो । वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

उहाँका अनुसार, सिन्धुली, गोरखा, दाङ, रुकुम रोल्पा, लमजुङ, पाल्पा, स्याङ्जा, पश्चिम राप्ती, बबईलगायतका नदीको बहाव न्यून रहनेछ । तर त्यस आसपासका साना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना रहेको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *