विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने लहर

पत्रपत्रिका राजनीाति

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको जेठ १९ गते नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का पोलिटब्युरो सदस्य एवं पूर्वराज्यमन्त्री पदम राईलाई पार्टीमा प्रवेश गराउँदै भन्नुभयो, “ढिलो चाँडो विप्लव पनि यसैमा (नेकपामा) प्रवेश गर्नुपर्छ । अरू विकल्प छैन । ’’

उहाँले थप्नुभयो, “म अन्य साथीहरूलाई कुनै पूर्वाग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गराँै । ” यसरी उहाँले आह्वान गरेको दुई महिना बितेको छ र पहिलो पटक होइन । तत्कालीन माओवादी केन्द्रबाट मोहन वैद्य किरण र त्यसबाट नेत्रविक्रम चन्द अलग भएको बेलादेखि नै उहाँले यस्तो विचार राख्दै आउनुभएको छ ।

उहाँले गरेको आह्वानअनुसार ती दलहरूबाट विस्तारै विस्तारै नेता तथा कार्यकर्ताहरू नेकपामा प्रवेश पनि गर्दै छन् । सरकारले २०७५ फागुन २८ गते विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि त झन् सो समूहबाट पार्टी छाडेर नेकपामा प्रवेश गर्ने लहर नै चलेको छ । सो समूहका आधाभन्दा बढी कार्यकर्ता तथा नेताहरू नेकपामा आइसकेका छन् ।

सो समूहका धेरै नेता पक्राउ परिसकेका छन् र सोहीअनुसार नेकपामा प्रवेश गर्नेको लहर चलेको छ । यी दुइटा कारणले विप्लव समूह कमजोर भइसकेको विश्लेषणसमेत भइरहेको छ । बाँकी रहेका नेता तथा कार्यकर्ता पनि नेकपामा आउने तयारी भइरहेको नेताहरूको दाबी छ ।

साउन १४ गते दुबई उड्नुअघि नेकपा अध्यक्ष प्रचण्डले विप्लव समूहका आठ जना नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउनुभयो । आफ्नै निवासमा एक कार्यक्रम आयोजना गरी उहाँले विप्लव समूहका ब्युरो सदस्य तथा बारा जिल्लाका पूर्वसचिव रमण घिमिरेलगायत आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दीपकुमार कार्की, नमराज शर्मालाई प्रवेश गराउनुभयो ।
त्यसैगरी असार २६ गते सो समूहका मेची–कोसी ब्युरो इन्चार्जसहित नेता तथा कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने र परिस्थितिको आवश्यकताअनुसार संसारलाई नयाँ समाजवादको मोडेल दिनेछौँ । ”

नेकपामा प्रवेश गर्नुभएका मेची–कोसी ब्युरो सदस्य तथा झापा ब्युरो इन्चार्ज सौगात आचार्यले विप्लव समूह गलत बाटोमा हिँडेका कारण आफूहरू सो पार्टी त्यागेर पुरानै पार्टीमा फर्केको बताउनुभयो । “हतियार उठाएर समाजवाद आउन सक्दैन” भन्दै उहाँले नेकपाले नै देशमा परिवर्तन ल्याई समाजवाद स्थापना गर्ने बताउनुभयो ।

जेठ २० गते विप्लव समूहका प्रवास ब्युरो ३ जिल्ला इन्चार्ज तथा ब्युरो सदस्य ललित ताम्राकार (अभियान) नेकपा प्रवेश गर्नुभएको थियो । उहाँलाई नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले स्वागत गर्नुभयो ।
त्यसैगरी वैशाख १३ गते भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–९, काँक्राबारीमा आयोजित एक कार्यक्रमका बीच विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्यविनायक नगरपालिका इन्चार्ज यादव तामाङ र युवानेता विराज तामाङ नेकपामा प्रवेश गर्नुभयो ।
उहाँहरूलाई नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नुभएका विराज तामाङले विप्लव समूह चन्दा, आतङ्क, लुटपाटको गतिविधिमा लागेर जनतालाई दुःख दिएको कारण आफूहरूले पार्टी परित्याग गरेको बताउनुभयो ।
वैशाख १० गते पनि म्याग्दीमा विप्लव समूह निकट विद्यार्थी सङ्गठनका अखिल क्रान्तिकारीको पूर्व गण्डक ब्युरो इन्चार्ज प्रकाश विश्वकर्मा पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नुभएको थियो ।

प्रहरीको खोजीको सूचीमा रहनुभएका विश्वकर्मा सहायक प्रजिअ महेश सुवेदी, नेकपाका अध्यक्ष गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, नगर संयन्त्र सदस्य नारायण जीसीलगायतको रोहबरमा सार्वजनिक भएपछि नेकपामा प्रवेश गर्नुभएको थियो । गत चैत २७ गते विप्लव समूहबाट काठमाडौँमा क्रियाशील २० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गर्नुभएको थियो । उहाँहरूलाई नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै निवासमा एक कार्यक्रम आयोजना गरी स्वागत गर्नुभएको थियो ।

विप्लव समूहबाट कतिजना नेकपामा प्रवेश गरेका छन्, त्यसको तथ्याङ्क सो पार्टीसँग छैन । यद्यपि सो समूहबाट प्रत्येक महिना वा कहिलेकाहीँ महिनामा दुई/दुई पटक पार्टी प्रवेश गराउने कार्यक्रम भइरहेका हुन्छन् । जिल्ला जिल्लामा पनि पार्टी प्रवेश गराउने काम जारी छन् ।
यता केन्द्रमा कहिलेकाहीँ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश कार्यक्रम हुन्छ नभए अधिकांश त्यस्तो कार्यक्रम प्रचण्ड निवास खुमलटारमा भइरहेको हुन्छ । तत्कालीन माओवादीबाट अलग भएर सो समूह बनेको कारणले प्रचण्डसँग निकटता भएको हुनाले खुमलटारमा पार्टी प्रवेशको कार्यक्रम हुने गरेको पार्टीका नेताहरू बताउनुहुन्छ ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले विप्लव समूहबाट नेकपामा आउने नेता तथा कार्यकर्ताको यकिन तथ्याङ्क नभए पनि सो समूहका आधाभन्दा बढी कार्यकर्ता नेकपामा आइसकेको दाबी गर्नुभयो । अझै धेरै नेतासँग कुराकानी भइरहेको र नेकपामा सङ्गठनको जिम्मेवारी बाँडफाँट टुङ्गिएपछि अन्य नेता पनि नेकपामा आउने उहाँको भनाइ छ ।गोरखापत्रबाट

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *