असारे विकास- २ महिनाको खर्च ३ दिनमै

पत्रपत्रिका

काठमाडौँ  ।  सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ ।महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) सम्मको पुँजीगत खर्च ४ अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो । आर्थिक वर्षको अन्तिम महिना असार लागे लगत्तैका तीन दिन (३, ४ र ५) गतेको खर्च त्योभन्दा बढी अर्थात् ४ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ ।

सरकार, योजना आयोग र संसदीय समितिहरूले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरू यो वर्ष पनि विगतकै झैं उल्लंघन हुने निश्चितप्राय: बनेको छ । ‘असारमा हुने खर्चले कमिसन र अनियमितताको खेल बढाउने, सरकारी बजेटको दुरुपयोग हुने र भ्रष्टाचारलाई मलजल गर्ने काम गर्छ,’ संसद्को लेखा समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘हरेक वर्ष वित्तीय जवाफदेहिता कार्यान्वयन नगरेर सरकारको छाडापन झन् मौलायो ।’

असार लागेलगत्तै खर्चको आकार बढ्न सुरु गरे पनि शनिबारसम्म पुँजीगत खर्चको प्रगति निराशाजनक छ । यो वर्षका लागि सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । तर हालसम्म १ खर्ब ६९ अर्ब १० करोड ७४ लाख १७ हजार रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ५० प्रतिशत मात्रै हो ।

अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षाबाट पुँजीगत खर्च ७० प्रतिशत पुर्‍याउने नयाँ लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य भेट्टाउनका लागि असार महिनाको बाँकी २३ दिनमा ६५ अर्ब ५१ करोड ५७ लाख ६२ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । जसका लागि दैनिक २ अर्ब ८४ करोड ८५ लाख ११ हजार खर्च हुनेछ ।

उक्त तथ्यांकअनुसार नै खर्च भए असारमा मात्रै २० प्रतिशतभन्दा बढी खर्च हुनेछ । किनकि जेठ मसान्तसम्म पुँजीगत बजेट ४८ प्रतिशत मात्रै खर्च भएको छ । २० प्रतिशतभन्दा बढी खर्च नाघे सरकारले नै बनाएको ऐन तथा कानुनको उल्लंघन हुनेछ । संशोधित लक्ष्य भेट्टाउन खर्च बढाउनुपर्ने तर असारमा २० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने बाध्यात्मक व्यवस्थाले अब वित्तीय अनुशासन उल्लंघन गर्ने विगतकै प्रवृत्तिले निरन्तरता पाउने निश्चित भएको छ । वित्तीय अनुशासनको दृष्टिकोण मात्रै नभई असारमा हुने विकास निर्माण गुणस्तरीय नहुँदा वर्षान्तको खर्च उपलब्धिविहीन हुने गरेको छ । कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *